तनहुँ,  पृथ्वी राजमार्गअन्तर्गत तनहुँ जिल्लाको व्यास नगरपालिका–३ र ४ जोड्ने मादी नदीको पुलबाट जिप खस्दा तीन जनाको मृत्यु भएको छ।

शनिबार राति करिब ११:३० बजे दमौलीबाट चापाघाटतर्फ जाँदै गरेको ग २ च ५७६० नम्बरको जिप अनियन्त्रित भई मादी नदीको पुलको रेलिङ तोडेर नदीमा खसेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

दुर्घटनामा परी व्यास नगरपालिका–५ निवासी कुशल मगर, प्रविन मगर र कुमार मगरको घटनास्थलमै मृत्यु भएको हो।

दुर्घटनामा चालक रोहित गुट्टा र धिरज रौनिहार घाइते भएका छन्। घाइते रौनिहारलाई दमौली अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि पोखरा रिफर गरिएको छ भने चालक गुट्टाको दमौली अस्पतालमै उपचार भइरहेको प्रहरीको भनाइ छ। 

जिपमा पाँच जना सवार रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।